निर्मला कुर्मी प्रकरणमा गृहमन्त्रीले भने- आन्दोलन छोडेर अनुसन्धानमा सहयोग गर्नुहोस्

होमल्याण्ड खबर

२०७९ पुष २४ गते, आईतवार १६:०५ मा प्रकाशित

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मीको न्यायका लागि काठमाडौंको माइतीघरमा चरणबद्ध आन्दोलमा रहेका पक्षलाई धर्ना छोडेर अनुसन्धानमा सघाउन आग्रह गरेका छन् ।

सरकारले घटनाबारे संवेदनशील भएर छानबिन अघि बढाएको भन्दै उनले यस्तो आग्रह गरेका हुन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले विशेष टोली परिचालन गरेर छानबिन अगाडि बढाएको गृहमन्त्री लामिछानेले प्रष्ट पारे।

यस अघिसमेत गृहमन्त्री लामिछानेले दुई पटक टेलिफोन गरेर धर्नामा रहेकी रुबी खानलाई घटनाबारे सरकार गम्भीर रहेको र दोषी पत्ता लगाउन आन्दोलन र धर्ना छोडेर प्रहरीलाई सघाउन आग्रह गरेका थिए ।

यसअघि सोमबार लामिछानेले गृह मन्त्रालयमा गृहसचिव विनोदप्रकाश सिंह, प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलगायत उच्च सुरक्षा अधिकारीसहितको छलफल गरेर सीआईबीलाई सत्यतथ्य छानबिन गरेर प्रतिवेदन पेस गर्न निर्देशन दिएका थिए । सीआईबीको विशेष टोलीले घटनाको अनुसन्धान गरिरहेको छ।