बागमती प्रदेशमा माओवादीका शालिकराम जम्मकट्टेल मुख्यमन्त्री बन्दै

होमल्याण्ड खबर

२०७९ पुष २५ गते, सोमबार १०:२३ मा प्रकाशित

बागमती प्रदेशको मुख्यमन्त्री शालिकराम जम्मकट्टेल बन्ने सुनिश्चित भएको छ। एमाले माओवादी सहितका सत्तारूढ गठबन्धन दलहरूबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएपछि माओवादीका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्मकट्टेल मुख्यमन्त्री बन्ने निश्चित भएको हो।

सत्तारूढ दलहरूबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा प्रदेश १ बाहेकका बाँकी ६ वटा प्रदेशको पनि बाँडफाँट भएको हो। प्रदेश १ आइतबार दिउँसो नै एमालेका नेता हिक्मत कार्की मुख्यमन्त्री दावी गदैं प्रदेश प्रमुखकाहाँ पुगेका थिए । र उनी नै साँझ मुख्यमन्त्री नियुक्त भएका थिए ।

बागमती प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्माले आह्वान गरेका छन्। प्रदेश प्रमुख शर्माले पुस २५ गते ४ बजेभित्र सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका थिए । त्यही आधारमा माओवादी संसदीय दलका नेता शालिकराम जम्मकट्टेल एमाले, माओवादी, राप्रपा समेतका सांसदहरुको हस्ताक्षर बोकेर आज मुख्यमन्त्री दावी गर्न जाँदैछन् ।

एक सय १० सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक हुन्छ। प्रदेश सभामा सबैभन्दा ठूलो दल कांग्रेसका ३७ सांसद रहेका छन् भने एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका सात, नेमकिपाका तीन र हाम्रो नेपाली पार्टीका दुई सांसद छन्।

यहाँ गठबन्धनभित्र राप्रपा निर्णायक थियो । उसले मुख्यमन्त्री दावी गरेपनि अन्ततः बालुवाटारमा भएको गठबन्धनको सहमतिमा सभामुख लिने गरी मुख्यमन्त्रीमा माओवादीलाई सघाउने भएको हो । गठबन्धनमा एमाले र माओवादीका बीचमा मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको छ । जसअनुसार, सुरुमा माओवादी केन्द्रका नेता शालिकरामले मुख्यमन्त्री बनेर प्रदेश सरकारको नेतृत्व सम्हाल्नेछन् ।

राप्रपालाई सभामुख र एमालेले उपसभामुख लिने समझदारी दलहरुका बीचमा भएको छ ।