९ मंसिर २०८१, आईतवार
विराटनगर सुपर किंग्सले नेपाल टि२० लिगमा काठमाडौं नाइट्सविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । टियु क्रिकेट मैदानमा भएको टसमा विराटनगरका रोहित पौडेलले जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।
काठमाडौंका सबै विदेशी खेलाडी फर्किएपछि बेन्चमा बस्ने कोहि पनि छैनन् । सबै नेपाली खेलाडीका साथ मैदान उत्रिएको छ । विराटनगरले बेन्चमा नारायण जोशी, सन्जिव कुमारस्वामी, रिजन ढकाल र अमरसिंह राउटेलालाई बेन्चमा राखेको छ ।
टोलीमा रहेका सबै विदेशी खेलाडी आफ्नो देश फर्किएपछि काठमाडौंको बेन्चमा बस्ने खेलाडी समेत नहुने भएका छन् । काठमाडौंले सबै ११ नेपाली खेलाडीका साथ खेल्नु पर्ने देखिएको छ । काठमाडौंले विदेशी खेलाडीको रुपमा अफगानिस्तानका आजमतुल्लाह ओमरजाई, मलेसिया विरनदीप सिंह, इंग्ल्यान्डका एलेक्स ब्लेक र जिम्बावेका रायन बर्ललाई टोलीमा लिएको थियो । ओमरजाई र बर्ल यसअघिनै घर फर्किएका छन् । विरनदीप र एलेक्स ब्लेक पनि शनिबार स्वदेश फर्किएका छन् ।
विदेशी खेलाडी उपलब्ध नहुँदा विराटनगरविरुद्ध एलिमिनेटर खेलको लागि काठमाडौंको टोलीमा नेपाली ११ खेलाडी मात्रै रहेका छन् । टोलीको बेन्चमा राख्ने खेलाडी पनि हुने छैनन् । कुनै खेलाडी घाइते भएका त्यसको स्थानमा फिल्डिङ गर्ने खेलाडी समेत हुने छैनन् ।
एलेक्स ब्लेकले लिगका सबै १० खेल खेले । ओमरजाईले ६, विरनदीपले ९ र बर्लले ५ खेल खेले । काठमाडौं १० खेलमा ४ मा जित र ६ मा हारसहित ८ अंकका साथ अन्तिम चारमा रहेर एलिमिनेटर खेलेको हो । विराटनगर १० खेलमा ५ मा जित र ५ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा रहेर एलिमिनेटर खेलेको हो ।
एलिमिनेटरको विजेताले मंगलबार फाइनलमा पुग्न जनकपुरसँग खेल्नेछ । पहिलो क्वालिफायरमा जनकपुर लुम्बिनी अल स्टार्ससँग ६ रनले पराजित भएको थियो । फाइनल बुधबार हुनेछ ।
काठमाडौंको प्लेइङ ११
ज्ञानेन्द्र मल्ल, लोकेश बम, बसिर अहमद, कमलसिंह ऐरी, अभिनाश बोहरा, अनिल खरेल, सौरभ खनाल, सन्दीप रजाली, सन्तोष कार्की, सुनाम गौतम र गौतम केसी ।
विराटनगरको प्लेइङ ११ : रोहित पौडेल(कप्तान), अर्जुन साउद, नन्दन यादव, साहब आलम, सूर्य तामाङ, पृथु बास्कोटा, विवेक यादव, मोहम्मद हुसेन तालत, गौरान्शु शर्मा, राज रक्की नान्नन र केओन आन्द्रे जोशेफ ।