घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्ने तयारी

होमल्याण्ड खबर

२०७९ पुष २८ गते, बिहीबार १३:३६ मा प्रकाशित

मङ्सिर ४ को निर्वाचनअघि नेकपा एमाले छाडेका वामपन्थी नेता घनश्याम भुसाल नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् ।

एकताका लागि भुसालले राखेको प्रस्तावमा एकीकृत समाजवादीले सकारात्मक जवाफ पठाएसँगै उनलाई पार्टीमा भित्र्याउने तयारी भएको उपमहासचिव गङ्गालाल तुलाधरले जानकारी दिए ।

‘हामीले उहाँले राखेका प्रस्तावको जवाफ पठाइसकेका छौ । अव छिट्टै उहाँ पार्टी प्रवेश गर्दै हुनुहुन्छ’, तुलाधरले भने, ‘बाँकी विषयमा बैठक बसेर निर्णय हुन्छ ।’

एकीकृत समाजवादीका नेताहरूका अनुसार भुसाललाई पार्टीमा सचिवालय सदस्यको जिम्मेवारी दिने तयारी छ । स्रोतका अनुसार आइतबारसम्म पत्रकार सम्मेलन गरेर भुसाल औपचारिक रूपमा पार्टी प्रवेशको तयारी भइरहेको छ ।

मङ्सिरमा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमालेले टिकट नदिएपछि भुसालले एमाले त्याग गर्दै रुपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । एकीकृत समाजवादीले वापन्थीहरुबीच एकता र सहकार्यका लागि वार्ता समिति नै गठन गरेर विभिन्न पार्टी र व्यक्तिहरूसँग छलफल चलाइरहेको छ ।