जय र पराजय निर्वाचनपछि थाहा हुन्छ : ईश्वरी न्यौपाने

होमल्याण्ड खबर

२०७९ माघ ४ गते, बुधबार १७:३२ मा प्रकाशित

नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी दिएकी छन् ।

बुधबार नयाँ बानेश्वारस्थित संसद भवनमा पुगेर उनले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रस्तावकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा छन् भने समर्थकमा नेकपा एसका सांसद प्रकाश ज्वाला रहेका छन् ।

न्यौपानेलाई माधव नेपाल नेतृत्वको नेकपा एस, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालको समर्थन छ ।

उम्मेदवारी दर्ता गराएपछि न्यौपानेले संसदमा तटस्थ भूमिका खेलेर सन्तुलित रूपमा संसद चलाउने बताइन् । कति जनाले समर्थन गरेको भन्ने कुरा निर्वाचनपछि थाहा पाउने उनको भनाइ थियो ।

पराजय हुने चुनाव लड्न तयार हुनुभयो होइन ? भन्ने प्रश्नमा न्यौपानेले भनिन्, ‘जय र पराजय कसरी थाहा पाउनुभयो ? म जयको नजिक छु ।’