४ चैत्र २०८२, बुधबार
लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले विश्वासको मत पाएका छन्। बिहीवार बसेको प्रदेश सभा बैठकमा विश्वासको मतको पक्षमा ५७ सांसदले मतदान गरेका छन्। गिरी पुस २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। मुख्यमन्त्री नियुक्त भएको आठौं दिनमा उनले विश्वासको मत पाएका हुन्।
प्रदेश सभाका सभामुख तुलाराम घर्तीले गिरीको पक्षमा ५७ र विपक्षमा २८ मत खसेको जानकारी दिए। ८७ सदस्यीय प्रदेशसभामा १ जना सांसद आज अनुपस्थित रहेको उनले बताए।


८ राजनीतिक दल र दुई स्वतन्त्र सांसद गरि ५७ जनाले पक्षमा मतदान गर्दै गिरीलाई विश्वासको मत दिएका हुन्। गिरीको पक्षमा एमालेका २९, माओवादी केन्द्रका ८, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४–४, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका ३–३, नेकपा एकीकृत समाजवादीका एकजना र दुईजना स्वतन्त्र सांसदहरु मतदान गरेका छन्।