९ मंसिर २०८१, आईतवार
सुपरमाई हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक सेयर आईपीओ निष्कासन गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रोजगारी गर्न गएका नेपालीका लागि आईपीओ निष्कासन गरेपश्चात् दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।
आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
यसमा माघ २६ गतेसम्म आवेदन दिन सकिनेछ । साथै लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर एपमार्फत पनि आईपीओमा आवेदन गर्न सक्नेछन् ।
कम्पनीले सर्वसाधारणलाई छुट्याएको कुल पाँच करोड रुपैयाँ बराबरको पाँच लाख कित्ता मध्ये १० प्रतिशत अर्थात५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरिसकेको छ ।
त्यस्तै, २५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ । १० हजार कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित गरिएको छ । बाँकी चार लाख १५ हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीले ७।८ मेगावाटको सुुपरमाई हाइड्रोपावर आयोजना निर्माण गरेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ ।