सरकार ढल्ने निश्चित भएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

होमल्याण्ड खबर

२०७९ माघ २५ गते, बुधबार १३:०६ मा प्रकाशित

मुख्यमन्त्रीले विश्वासको मत नपाएसँगै सरकार ढल्ने भएपछि आजको लागि बोलाइएको सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।

आजको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने कार्यसूची तय भएको थियो । तर, मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि बिहीबार बस्नेगरी बैठक सारिएको हो ।

प्रदेशसभाका सचिव देवबहादुर बोगटीले सभामुखको आदेशानुसार बिहीबार दिउँसो १ बजे बस्ने गरी बुधबार बस्ने भनिएको बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।

पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले आज विश्वासको मत लिने कार्यक्रम थियो । तर, नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिए भएपपछि सरकार ढल्ने निश्चित भएको थियो ।

सुदूरपश्चित प्रदेशसभा ५३ सदस्यीय रहेको छ । रावललाई विश्वासाको मत पाउँदै सरकार चलाउनका लागि महुमत अर्थात २७ मत आवश्यक हुन्छ । तर, नागरिक उन्मुक्तिले मत नदिएको खण्डमा मुख्यमन्त्रीलाई विश्वासको मत पुग्दैन ।

सुदूरपश्चिममा हाल सत्तारुढ दलहरु एमालेका १०, माओवादीका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ प्रदेशसभा सदस्य छन् ।