भारतीय विदेश सचिव क्‍वात्रा काठमाडौंमा

होमल्याण्ड खबर

२०७९ फाल्गुन १ गते, सोमबार १२:१० मा प्रकाशित

भारतीय विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आएका छन् । दुई दिने नेपाल भ्रमणमा उनी आज (सोमबार) बिहान काठमाडौं आइपुगेका हुन् ।

उनलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्न परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल, नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तव लगायतको उपस्थिति थियो । सचिव पौडेलको निमन्त्रणामा नेपाल भ्रमणमा आएका उनले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र राजनीतिक दलका प्रमुख र सरकारी उच्च अधिकारीहरुसँग भेटवार्ता गर्नेछन् ।

सोमबार र मंगलबार उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्रीदेखि राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ ।
सचिव क्वात्रा आज नै नेपाल-भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन् । छलफल पछि परराष्ट्र सचिव पौडेलले उनको सम्मानमा आयोजित लञ्च कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ । सचिवस्तरीय बैठकमा कनेक्टीभिटी, विद्युत व्यापार, कृषि तथा स्वास्थ्यसहितका विषयमा छलफल हुनेछ ।

लञ्चपछि भारतीय विदेश सचिवले परराष्ट्रमन्त्री विमला राईसँग द्वि–पक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् ।

सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । विदेश सचिव क्ववत्राले मंगलबार भने नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेटघाट भेट गर्ने मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेर स्वदेश फर्कने कार्यक्रम रहेको बताइएको छ ।