नागरिकता विधेयक रोके सडक संघर्ष सुरु गर्छौं : प्रदीप यादव

होमल्याण्ड खबर

२०७९ फाल्गुन ३ गते, बुधबार १३:४७ मा प्रकाशित

जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले सरकारले कुनै पनि खेलबाट नागरिकता विधेयक रोकेमा सडक र सदनबाट संघर्ष सुरु गर्ने चेतावनी दिएका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद यादवले जनता समाजवादी पार्टीले नागरिकता विधेयक रोकिए सडक र सदनबाट आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

उनले आवाजबिहीनको आवाज कसले सुनिदिने ? भन्दै प्रश्न गरे । जन्मसिद्ध नागरिकको सन्तानहरु नागरिकता नपाएर रुँदै आएको भन्दै उनीहरुको लागि न्याय कहिले दिने भन्दै प्रश्न गरे । कुनै पनि खेल गरेर नागरिकता विधेयक रोकेको खण्डमा आफ्नो पार्टीले सडक संघर्ष सुरु गर्ने चेतावनी दिए ।

उनले भने, ‘यो न्यायको मन्दिर हो । आवाजबिहीनको आवाज कसले सुनिदिने ? जन्मसिद्ध नागरिकको सन्तानका आवाज कसले सुनिदिने ? रुँदै आउँछन् उनीहरु । उनीहरुको लागि न्याय दिने आज कोही छैन । यही न्यायको मन्दिर हो नि । यहीँबाट जनताले न्याय पाउने हुन् नि सभामुख महोदय । जन्मसिद्ध नागरिकका सन्तानको के गल्ती छ ? बाबु र आमा नेपाली नागरिक हुँदा हुँदै पनि आज नागरिकता बिना भड्किरहेका छन् । म यो सरकारलाई चेतावनी दिन चाहन्छु, अब कुनै खेलले नागरिकता विधेयक रोक्ने ढिलो गर्ने प्रयास भयो भने जनता समाजवादी पार्टी सडक र सदन २ वटैमा संघर्ष गर्छ ।’

सांसद यादवले संविधान जारी भएदेखि नै जन्मसिद्ध नागरिकका सन्तानहरुलाई नागरिकताबिहीन अवस्थामा राख्नु बिडम्वनापूर्ण भएको बताए ।