४ चैत्र २०८२, बुधबार
कैलाली कारागारमा रहेका कैलाली–२ बाट निर्वाचित नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी रिहा हुने तयारीमा छन् ।
चौधरीले आगजनी घटनामा तोकिएको ८ लाख जरिवाना समेत बुझाइसकेका छन् । उनको कैद सजाय मिनाहा गरेर फागुन ७ गते प्रजातन्त्र दिवसको दिन रिहा गर्न लागिएको बुझिएको छ। सजाय माफीका लागि प्रक्रिया समेत अघि बढाइएको छ। उनको माफीको लागि फाइल राष्ट्रपति कार्यालयमा पठाइएको छ।


२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्रयाक्टर जलाएको भन्दै २०६७ भदौ २ गते कैलाली जिल्ला अदालतमा महादेव बजगाईँले अरुण चौधरी सहित पर्शुराम चौधरी र वीरबहादुर चौधरीलाई विपक्षी बनाइ मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा २०७० वैशाख ९ गते फैसला सुनाउँदै अदालतले तीनै जनालाई ६ महिना कैद र क्षति बराबरको सजाय सुनाएको थियो ।
फरार सूचीमा रहेका चौधरी सांसद भएपछि माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए । प्रहरीले पक्राउ गरेपछि उनलाई कैद र जरिवाना असुलका लागि जिल्ला अदालत पेस गरेको थियो । जिल्लाले थुनामा पठाएपछि उनी त्यस विरुद्ध बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर उच्च अदालत दिपायल पुगेका थिए ।