४ चैत्र २०८२, बुधबार
राष्ट्रपतिको आममाफीबाट कारागारमुक्त भएका नागरिक उन्मुक्ति पार्टीका नेता अरुण कुमार चौधरीले आफूमाथि राजनीतिक प्रतिशोध साँधिएको आरोप लगाएका छन् । कैलाली कारागारबाट आज बिहान रिहा भएपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूमाथि प्रतिशोध साधिएको आरोप लगाएका हुन् ।
१८ दिनको कारागार बसाइँले धेरै कुरा सिकाएको बताउँदै चौधरीले भने, ‘आज जुन हिसाबले म भित्र आएँ, त्यो त एउटा राजनीतिक प्रतिशोधको हिसाबले भित्र आएको हो जस्तो लागिरहेको छ ।’


उनले अगाडि भने, ‘यो सानो पार्टी छ, जसरी उठिराछ, त्यसरी नै खुम्चाइदिउँ भन्ने जुन परिपाटी देखियो त्यो नेपालको राजनीतिमा त्यति राम्रो देखिएको छैन ।’
२०६६ भदौ ३ गते बन्दको अवज्ञा गरेको भन्दै ट्याक्टर जलाएको आरोपमा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनामाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । तर उनीहरु फरार भएका थिए । उनी गत वैशाखको प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनी गत माघ १९ गते बाँकेबाट पक्राउ परेका थिए ।
आममाफी दिएकोमा राष्ट्रपति कार्यालय, नेपाल सरकार र गृह मन्त्रालयलाई उनले धन्यवाद पनि दिएका छन् ।