प्रधानमन्त्री दाहाल भेट्न रवि लामिछाने बालुवाटरमा पुगे

होमल्याण्ड खबर

२०७९ फाल्गुन ८ गते, सोमबार ११:५० मा प्रकाशित

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेपाली कांग्रेसका शीर्षस्थ नेताहरुको एक समुहले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार अबेर राति भेटेका थिए ।

भेटघाटको क्रममा उनीहरुले प्रधानमन्त्रीसंग आसन्न राष्ट्रपति पदको निर्वाचनमा कांग्रेसको उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री दाहालले आज सोमबार बस्ने माओवादी केन्द्रको पदाधिकारी बैठकमा कांग्रेसबाट आएको प्रस्तावबारे छलफल गर्ने आश्वासन दिएको बताइन्छ ।

यसैबीच, नेपाली कांग्रेसका प्रभावशाली नेताहरुले भेटघाट गरेको भोलिपल्ट बिहान प्रधानमन्त्री दाहालसंग उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छुट्टा छुट्टै भेटघाट गरेका छन् ।

सोमबार बिहान अर्थमन्त्री पौडेल तथा लामिछानेले फरक–फरक समयमा प्रधानमन्त्रीसंग भेटवार्ता गरेको बताइन्छ ।

आफ्नो पार्टीका सभापति लामिछानेले प्रधानमन्त्रीसंग सोमबार बिहान गरेको भेटवार्तालाई रास्वपाका एक नेताले पुष्टि गर्दै पार्टी सभापतिले गठबन्धनको एक घटकको रुपमा राष्ट्रपति निर्वाचनको विषयमा चासो लिएको बताएका छन् ।