पल शाहलाई स्वागत गर्न दमौली कारागार अगाडि समर्थकको भीड

होमल्याण्ड खबर

२०७९ फाल्गुन १५ गते, सोमबार ११:२६ मा प्रकाशित

बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएर रिहा हुन लागेका अभिनेता पूर्णविक्रम शाह (पल शाह) को स्वागतका लागि उनका समर्थकको दमौलीमा भीड लागेको छ ।

नाबालिग बलात्कारको उजुरी परे पनि जिल्ला अदालत नवलपुरले उनलाई बाल यौन दुरुपयोगमा दोषी ठहर गरेको थियो । तर उच्च अदालत पोखराले जिल्ला अदालतको फैसला उल्टाइ दिएपछि पल शाहले सफाइ पाएका हुन् ।

शाह सफाइ पाएर जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतबाट रिहा हुन लागेपछि उनका समर्थक दमौलीमा पुगेका हुन् । उनको समर्थकको भीड लागेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पल शाहका कानुन व्यवसायी कमलामोहन वाग्लेले शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएकाले आज रिहा हुने जानकारी दिए ।

एक गायिकाले सुटिङको क्रममा शाहले आफूलाई बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा उजुरी दिएकी थिइन् । १५ फागुनमा शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए ।