प्रदेश नम्बर–१ को नाम ‘कोशी’ बहुमतले स्वीकृत

होमल्याण्ड खबर

२०७९ फाल्गुन १७ गते, बुधबार १६:४९ मा प्रकाशित

 प्रदेश १ को नामकरणका निम्ति प्रदेशसभा सचिवालयमा दर्ता गराइएको ‘किराँत-लिम्बुवान-सगरमाथा’ नामको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ।

बुधबार बसेको प्रदेससभा बैठकमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईले राखेको किरात लिम्बुवान सगरमाथा प्रदेश नामको प्रस्ताव प्रदेशसभाले  छलफलका लागि अस्वीकार गरेको हो।

नामकरणका निम्ति प्रदेशसभामा नेकपा एमाले र नेपाली कांग्रेसले दर्ता गराएको ‘कोशी’ नामको प्रस्ताव भने स्वीकृत भएको छ। प्रदेशसभाका बहुमत सांसदहरूको समर्थनमा सो प्रस्ताव छलफलका निम्ति स्वीकृत भएको प्रदेशसभा सचिवालयका प्रवक्ता चन्द्रमणि पोखरेलले बताए।

उनले हालः उक्त प्रस्तावउपर प्रदेशसभा बैठकमा छलफल भइरहेको जानकारी दिए। उनले भने, ‘नाममाथिको छलफल सकिएपछि मत विभाजन हुन्छ। मत विभाजनमा प्रदेशसभाको दुई तिहाइ बहुमतले नाम पारित गरेपछि प्रदेशले नाम पाउँछ।’ प्रदेशसभामा हाल भने ‘कोशी’ नाममाथिको छलफल जारी छ।

प्रदेशसभाको बहुमतले कोशी प्रदेशलाई छलफलका लागि स्वीकार गरेपछि सभामुख बाबुराम गौतमले किरात लिम्बुवान सगरमाथाको प्रस्ताव अस्वीकृत भएको जानकारी दिएका थिए।