३ चैत्र २०८२, मंगलवार
नेकपा एमालेका सचिव याेगेश भट्टराईले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङ र प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेट भएको बताएका छन् । उनीहरूबीचको भेटमा उम्मेदवार नेम्वाङप्रति प्रधानमन्त्री सकारात्मक रहेको उनको दाबी थियो ।
यस्तै, राष्ट्रपति पदका उम्मेदवार नेम्वाङले लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । राष्ट्रपति निर्वाचन नजिकिएसँगै उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा सहयोग गर्न अध्यक्ष ठाकुरलाई आग्रह गरेका हुन् ।


भेटका क्रममा उम्मेदवार नेम्वाङले आफूलाई राष्ट्रपतिमा मतदान गर्न आग्रह गरेको र अध्यक्ष ठाकुरले पार्टीको बैठकबाट निर्णय गर्ने बताउने प्रतिक्रिया दिएको लोसपा नेता राजेन्द्र महतोले जानकारी दिए । उनले आफू आठ दलीय गठबन्धनमा सहभागी रहेकाले पार्टीको बैठकबाट निर्णय गरी जवाफ दिने बताए ।
यस्तै, भेटपछि नेकपा एमाले सचिव योगेश भट्टराईले अहिलेको राष्ट्रपति निर्वाचनमा सुवास नेम्वाङको उम्मेदवारी न्यायोचित उम्मेदवारी भएकाले लोसपा सकारात्मक रहेको बताए । उनले राष्ट्रपति जस्तो पदमा गठबन्धन बनाएर देशलाई विभाजित गर्नु नहुने बताए ।
‘अहिलेको राष्ट्रपति निर्वाचनमा सुवास नेम्वाङको उम्मेदवारी न्यायोचित उम्मेदवारी हो, संविधान, कानून बुझेको, संविधान निर्माणमा नै अग्रसर रहेकाले उहाँ नै उपयुक्त हुनुहुन्छ, बैठक बसेर निर्णय गर्ने कुरा गर्नुभएको छ, तर उहाँहरुको प्रतिक्रिया सकारात्मक पाएका छौँ,’ उनले भने, ‘ राष्ट्रपति जस्तो निर्वाचनमा गठजोड बनाएर, गठबन्धन बनाएर देशलाई विभाजित गर्नु हुँदैन, माओवादीका अध्यक्ष एवं प्रधानमन्त्रीसँग पनि हामीले भेट गरेका छाँै, यसमा प्रधानमन्त्री सकारात्मक कुरा भएको बुझेका छौँ ।’