३ चैत्र २०८२, मंगलवार
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू मन्त्री बन्ने लाइनमा नरहेको बताएका छन्।
आफू प्रधानमन्त्री बन्ने भनेर तयारी गरेको तर संसदीय दलको नेता बन्न नसकेकाले मन्त्रीको लाइनमा नरहेको उनको भनाइ छ।


आर्थिक पत्रकारहरुको संस्था सेजनको कार्यक्रममा बोल्दै उनले भने, ‘ कतिपय साथीहरुले तपाईं मन्त्री भएर जाने हो? भन्नुहुन्छ, म मन्त्री होइन महामन्त्री हो।
फेरि प्रश्न आउँछ- चलाउन सक्छु भन्ने लाग्दैन? मन्त्री होइन, प्रधानमन्त्री बन्छु भनेर लागेको हो। मैले सांसद् साथीहरुको मन जित्न सकिनँ। मैले न अहिले मन्त्री बन्न मिल्ने हो। न म मन्त्री बन्छु। न मन्त्री बन्ने लाइनमा छु।’
आफू आवश्यकता परेको समयमा बाहिर सुझाव दिने र मद्दत गर्ने पनि बताए। आफ्नो पाँच वर्षको जिम्मेवारी सांसद् भएर काम गर्ने रहेको उनले बताएका छन्। उनले थपे, ‘म प्रधानमन्त्री बन्छु भनेर लागेको हो। संसदीय दलको नेता बन्नुपर्थ्यो। बन्न सक्नुपर्थ्यो। बन्न सकिनँ। पाँच वर्षको जिम्मेवारी सांसद् भएर काम गर्ने हो। मैले प्रधानमन्त्री र मन्त्रीलाई मद्दत गर्ने हो। विवेचना गर्ने हो। संसद्मा आवाज उठाउने हो।’
आफू कांग्रेसको महामन्त्री रहेको बताउँदै त्यो हैसियतमा पनि आर्थिक क्षेत्र सुधारका लागि सक्रिय हुने र काम गर्ने उनले बताए। प्रधानमन्त्री बदलिएपनि गठबन्धन नबदलिने बताउँदै नागरिले पाँच वर्षका लागि सरकार चलाउने जिम्मा दिएको रुपमा बुझ्नुपर्ने बताए। स्थानीय र प्रदेश सरकारसँग समन्वय गरेर अघि बढ्नुपर्ने उनको भनाइ् छ।
गठबन्धन बन्ने, मन्त्रालयमा भागबन्डा गर्ने, नियुक्ति र कर्मचारीमा भागबन्डा गर्ने उस्तै प्रक्रियाको अन्त्य हुनुपर्ने उनको धारणा छ।