दुई महिनामा भैरहवाबाट ४४ अर्बको आयात

होमल्याण्ड खबर

२०७५ आश्विन १४ गते, आईतवार १५:०४ मा प्रकाशित

मुलुक विदेशी उत्पादनमा परनिर्भर भइरहेका बेला गत दुई महिनामा देशकै ठूलो मध्येको भैरहवा बेलहिया नाकाबाट ४४ अर्ब रुपैयाँ बराबरका सामान आयात भएको छ । चालू आर्थिक वर्षको साउन र भदौमा मात्रै बेलहिया नाका हुँदै ४३ अर्ब ९१ करोड ७८ लाख रुपैयाँ बराबरका मालसामान तथा यातायातका साधन भारत तथा तेस्रो मुलुकबाट आयात भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले बताए ।

कार्यालयका अनुसार साउनमा २१ अर्ब ५६ करोड ८२ लाख र भदौमा २१ अर्ब ९१ करोड ७८ लाख रुपैयाँ बराबरका सामान तथा वस्तु आयात भएका हुन् । स्वदेशी उत्पादन नहुँदा यतिधेरै मूल्यका सामान आयात भएको हो । कृषियोग्य जमिन धमाधम प्लटिङ हुनु, कृषि भूमिहरू बाँझै रहनु, कृषिमा वैज्ञानिक प्रविधि अपनाउन नसक्नु, कृषकले समयमै मल तथा प्रविधि नपाउनु, कृषिमा न्यून अनुदान जस्ता कारणले कृषि उपज उत्पादनमा कमी आउँदा चामललगायत खाद्यान्न, आलु–प्याज, तरकारीमा मात्रै करोडौं रुपैयाँको आयात हुने गरेको छ । आयात ९८ प्रतिशत हुँदा निर्यातको अंक करिब २ प्रतिशतको हाराहारीमा रहेको सूचना अधिकृत पौडेलले बताए ।

उपभोग्य वस्तुको माग बढ्दै जाँदा नेपालमा उद्योग बजारका लागि स्पष्ट औद्योगिक नीति नहुनु, लगानीको सुरक्षा नहुनु, उब्जाउ भूमि बाँझो रहनु तथा प्लटिङ गर्ने प्रवृत्तिमा वृद्धि हुनु, परनिर्भरता, उर्जा संकट, औद्योगिक कच्चा पदार्थका लागि पूर्णरूपमा परनिर्भरता जस्ता कारणले पनि आयात र निर्यातबीचको खाडल बढ्दै गएको छ ।
भैरहवा भन्सार कार्यालयको तथ्यांकअनुसार चालू आवको दुई महिनामा यो नाकाबाट सबैभन्दा बढी हाइस्पिड डिजेल २ अर्ब १८ करोड बराबरको आयात भएको छ । त्यसैगरी मोटरसाइकल १ अर्ब ८३ करोड ६४ लाख बराबरको जिप, कार र भ्यान ८० करोड ३३ लाख, एमएस ब्लेट (फलाम) ४४ करोड २७ लाख, सिमेन्ट क्लिङ्कर ६३ करोड ६३ लाख, ग्लेज टायल ४८ करोड ४६ लाख, डबल क्याव पिकअप गाडी २४ करोड ९८ लाख, सिंगल क्याव पिकअप गाडी ३४ करोड ७५ लाख रुपैयाँ बराबरको आयात भएको छ । यस्तै ट्रक, मिनी ट्रक २८ करोड ८७ लाख, पेट्रोल ६३ करोड ८२ लाख र मार्बल स्यालब २४ करोड ७६ लाख रुपैयाँबराबरको आयात भएको छ । यसैगरी एलपी ग्यास ६८ करोड ३७ लाख, पोलोथिन दाना ६० करोड ६६ लाख, चामल तथा कनिका १५ करोड ४० लाख र श्रृङ्गारका सामान ४९ करोड २६ लाख रुपैयाँ बराबरको आयात भएका छन् ।
त्यस्तै चामल, आलु, प्याज, हरियो तरकारी, मसला, चकलेट, प्लास्टिक सिट, पत्थर कोइला, तयारी कपडा, मोटर गाडीका पार्टस्हरू पनि करोडौं मूल्यका आयात भएका छन् ।
यो नाकाबाट निर्यात हुने सामानमा जडिबुटी, सुठो, तयारी धागो, स्याग (प्लास्टिक), अदुवा लगायत छन् । आयात ९८ प्रतिशत छ भने निर्यात मुस्किलले २ प्रतिशतको हाराहारीमा छ । भन्सार कार्यालयले ४४ अर्ब बराबरको सामान आयात गर्दा साउन र भदौमा १३ अर्ब ९९ करोड १९ लाख राजस्व संकलन गरेको छ । जुन लक्ष्यको ९९ प्रतिशत हो । भन्सार कार्यालयले साउनमा भन्सार विभागले तोकेको राजश्व लक्ष्य पूरा गरे पनि भदौमा भने पूरा भएन । असोजको १२ गतेसम्म भने तोकेको लक्ष्यको ५५ प्रतिशत संकलन भइसकेको कार्यालयले जनाएको छ । असोजमा अटो (मोटरसाइकल, जिप, भ्यान, कार), तयारी पोसाकहरू, खाद्यान्न र पर्व लक्षित सामग्री बढी आयात भएकाले लक्ष्यभन्दा बढी राजस्व संकलन हुने सूचना अधिकृत पौडेलले बताए ।