मृत्युदण्ड दिन हुन्‍न भन्ने पक्षमा दृढ छु : ओली

होमल्याण्ड खबर

२०७९ फाल्गुन ३० गते, मंगलवार १४:०७ मा प्रकाशित

नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु कहिल्यै पनि मृत्यदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताएका छन् । मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएको आफू मृत्यदण्डको पक्षमा नरहेको अध्यक्ष ओलीको तर्क थियो ।

मंगलबारबाट काठमाडौंमा सुरु भएको मानव अधिकार रक्षक तथा सामाजिक अभियन्ताहरुको तेस्रो राष्ट्रिय सम्मेलनको उदघाटन कार्यक्रममा ओलीले बुद्ध जन्मेका देशका बासिन्दाहरु कुनै पनि आवेश वा उत्तेजनामा पनि मृत्यदण्डको पक्षमा जान नहुने बताए ।

अध्यक्ष ओलीले संयुक्त राष्ट्र संघले मानवबीच हुने कुनै पनि प्रकारको विभेदलाई स्विकार गर्न नसक्ने कुरालाई स्पष्ट पारेको बताए ।

उनले भने, ‘मृत्यदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ हुँदैन । त्यसकारण हामी स्थायी रुपमा, हामी नेपालीहरु, बुद्ध जन्मेका देशका बासिन्दाहरु, यहाँका नागरिकहरु कहिल्यै पनि मृत्यदण्डको पक्षमा कुनै आवेश, उत्तेजनामा पनि जानु हुँदैन भन्ने मेरो एकदम दृढ मत हो । कहिल्यै मृत्युदण्डको पक्षमा जानु हुँदैन । तर कतिवटा देशहरुले त मृत्युदण्ड दिएको दिएनै छ । संयुक्त राष्ट्र संघको मानव अधिकार डिक्लेरेशनले कुनै प्रकारको विभेद हुँदैन भन्छ । सबै प्रकारका असमानता स्विकार गर्दैन ।’

अध्यक्ष ओलीले नेपालमा पनि मानव अधिकार आयोगलाई धम्की दिने राजनीति भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे ।