सरकारको नेतृत्व तलमाथि हुँदैन : प्रधानमन्त्री

होमल्याण्ड खबर

२०७९ फाल्गुन ३० गते, मंगलवार १६:२१ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्वमा कुनै तलमाथी नहुने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले त्यस्तो बताएका हुन् ।

‘यस बिचमा राजनीतिक समीकरणमा फेरबदल आएको छ। तर यसको अर्थ सरकारको नीति फेरिँदैन” प्रधानमन्त्रीले भने, हिजो हामीले जुन प्राथमिकता निर्धारण गरेको छ सामाजिक न्याय, सुशासन र समृद्धि। त्यसमा हामी दृढ भएर अगाडि जान्छौँ। मन्त्रीहरू फेरिनुहुन्छ, तर सरकारको नीतिगत प्राथमिकता फेरिँदैन, त्यसैले आफ्नो काममा दत्तचित्त भएर लाग्नुस्, परिणाम दिनुस्।”

वर्तमान सरकार आफ्नो घोषित लक्ष्यमा दृढतापूर्वक अगाडि बढ्ने पनि उनले बताए ।

प्रधानमन्त्रीले भने, “मैले नेपाल सरकारका सचिवहरूलाई दिएको निर्देशन, संसदमा गरेको सम्बोधन र नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा मैले जेजति कुरा भनेको छु। तिनीहरू फेरिँदैनन्। कर्मचारी प्रशासनले पनि ती विषयलाई केन्द्रमा राखेर काम गर्नुपर्दछ।”