३ चैत्र २०८२, मंगलवार
मुलुकभरका अधिकांश क्याम्पसहरूमा स्ववियु निर्वाचन सुरू भएको छ । विद्यार्थीको तालाबन्दी र विभिन्न समस्याका कारण केही क्याम्पसहरूमा भने स्ववियु निर्वाचन स्थगित भएको छ ।
देशैभरका त्रिभुवन विश्वविद्यालयसहित आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरूमा आज बिहान ८ बजेबाट स्ववियु निर्वाचन सुरु भएको हो । मतदानको समय अपरान्ह ४ बजेसम्म तोकिएको छ ।


काठमाडौंका १५ आंगिक क्याम्पसहरूमा निर्वाचन भइरहेको छ । निर्वाचन समितिका अनुसार ६२ आंगिक क्याम्पसमध्ये ४८ र सामुदायिक क्याम्पसमा मतदान सुरु भएको हो । काठमाडौं उपत्यकाका २२ आंगिक क्याम्पसमा साढे ६६ हजार र उपत्यकाबाहिरका साढे ९५ हजार विद्यार्थी निर्वाचनमा सहभागी हुने गरी मतदाता नामावली सार्वजनिक भएको छ ।
त्रिविका ५ सय २३ सामुदायिक क्याम्पसमध्ये अधिकांश स्ववियु चयन गर्ने प्रक्रियामा रहेको केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए । दुई आंगिक र सयभन्दा बढी सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्विरोध भइसकेको छ ।
नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत राजनीतिक पार्टी निकटका विद्यार्थी संगठनले प्यानल बनाएर उम्मेदवारी दिएका छन् । त्योबाहेक विद्यार्थीले गैरदलीय रूपमा पनि उम्मेदवारी दिएका छन् । निर्वाचन निर्देशिकामा ११ जना विद्यार्थी मिलेर स्वतन्त्र रूपमा समूह दर्ता गरेर निर्वाचन लड्न पाउने व्यवस्था पहिलो पटक राखिएको छ ।
प्रत्येक क्याम्पसमा कम्तीमा ११ देखि २१ सदस्यीय स्ववियु कार्यसमिति रहनेछ । दुई सयसम्म विद्यार्थी भएमा ११, एक हजार विद्यार्थी रहे १५ र तीन हजारसम्म विद्यार्थी भएका क्याम्पसमा १९ र त्योभन्दा बढी विद्यार्थी अध्ययनरत क्याम्पसले २१ सदस्यीय स्ववियु चयन गर्नुपर्नेछ । अध्यक्ष, सचिव, कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिवसहित ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित गर्ने व्यवस्था छ ।