३ चैत्र २०८२, मंगलवार
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमाले नेतृत्वको गठबन्धन किन टुट्यो भन्ने कुरा विस्तार खुल्दै जाने बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले व्यंग्यात्मक रुपमा एमाले नेतृत्वको गठबन्धन टुट्नुको कारण विश्वविद्यालयका विद्यार्थीलाई खोजी गर्न जिम्मा दिन आग्रह गरे ।


‘यहाँ कुरा सुन्दा म पनि अन्योलमा परेको छु । प्रचण्डजी प्रधानमन्त्री भएको गठबन्धनको प्रमुख घटकलाई घोक्रयाएर निकालियो भन्ने पनि सुनियो । घोक्रयाएरै निकाल्ने काम किन गरियो ? त्यसको पनि जवाफ हामी पक्कै थाहा पाउनेछौं । घोक्रयाएर निकालियो भन्ने पनि मैले सुने अर्कोतर्फ आफै निस्किनुपर्ने अवस्था बन्यो भन्ने पनि मैले सुने । म आफैं अलमलमा परें’, उनले भने, ‘मैले सोचे हाम्रो देशको कुनै विश्वविद्यालयका विद्यावारिधि गर्ने विद्यार्थीलाई खोज र अनुसन्धान गर्ने जिम्मेवारी दिनुपर्छ कि ? के कति कारणले गर्दा त्यतिखेर कायम भएको गठबन्धन टुट्यो ? के कारणले नयाँ गठबन्धन निर्माणको अवस्थामा पुग्यो ?’ उनले फागुन १२ गते बनेको १० दलीय गठबन्धन पाँच वर्ष टिक्ने दाबी गरे ।
उनले भने, ‘फेरि अर्को वैशाखमा विश्वासको मत लिनुपर्ने अवस्था त आउँदैन ? म अस्वाभाविक ठान्दिनँ । तर, त्यो अवस्था आउँदैन भन्ने मलाई विश्वास छ । यो गठबन्धन आउने ५ वर्षसम्म टिक्छ । यो गठबन्धन एकताबद्ध भएर अगाडि बढ्ने विश्वास छ।’