सरकारमा कांग्रेसको उपस्थिती फरक हुनुपर्छ : नेता पौडेल

होमल्याण्ड खबर

२०७९ चैत्र ७ गते, मंगलवार १४:३९ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले कांग्रेसले विगतका गल्ती दोहोर्‍याउन नहुने बताएका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस चितवनले मंगलबार गरेको गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृतिसभामा बोल्दै नेता पौडेलले अहिलेको गठबन्धन सरकारमा कांग्रेसको उपस्थिति नयाँ ढंगको हुनुपर्ने बताएका हुन् । स्थानीय, प्रदेश र केन्द्र सरकारमा हुने कांग्रेसले जनतालाई नयाँ आभाष दिलाउन सक्नुपर्ने उनको भनाई थियो ।

‘गठबन्धनको सरकारमा कांग्रेसको उपस्थिति अन्य दलभन्दा फरक हुनु आवश्यक छ । विगतभन्दा सुधारिएको हुनु आवश्यक छ । कांग्रेस अब पाँचै वर्ष सरकारमा हुनसक्छ, तर सरकारमा भइरहने कुराले महत्त्व राख्दैन,’ उनले भने, ‘पाँच वर्षपछि फेरि निर्वाचन हुन्छ । त्यो निर्वाचनमा जनताको मत जित्ने गरी काम गर्न सक्नुपर्छ । कांग्रेसले विगतका गल्ती सच्याएर अघि बढ्नु आवश्यक छ ।’

उनले अहिले गठबन्धन गरेर चुनाव लडेको र गठबन्धनकै बलमा सरकारमा पुगेको स्मरण गराउँदै पाँच वर्षपछि कांग्रेसले एक्लै निर्वाचनमा जानुपर्ने परिस्थितिको लागि अहिलेदेखि नै तयार रहनुपर्ने बताए । उनले चितवन–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छान्दा स्थानीय माटोले चिनेको, माया र विश्वास पाएको नेतृत्वलाई अघि सार्नुपर्ने बताए ।