माओवादीले लुम्बिनी सरकारलाई दिएको समर्थन आज फिर्ता लिने

होमल्याण्ड खबर

२०७९ चैत्र ९ गते, बिहीबार ०९:५२ मा प्रकाशित

नेकपा (माओवादी केन्द्र)ले लिला गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । त्यसका लागि माओवादीले आज लुम्बिनी प्रदेश संसदी दलको बैठक बोलाएको छ ।

माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले संसदीय दलको बैठकबाट एमालेका तर्फबाट मुख्यमन्त्री बनेका गिरीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्ने बताए ।

पुस २८ मा माओवादी केन्द्रसहित लोसपा, नागरिक उन्मुक्ति, राप्रपा, लोसपा, जसपाको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बनेका थिए । तर केन्द्रमा एमाले र राप्रपाबाहेकको नयाँ गठबन्धन बनेपछि माओवादीले गिरीलाई दिएको समर्थन फिर्ता लिन लागेको हो ।

८७ सांसद रहेको लुम्बिनी प्रदेशसभामा बहुमतका लागि ४४ सांसद आवश्यक हुन्छ । लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, नेकपा एकीकृत समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका दल सम्मिलित गठबन्धनबाट नयाँ सरकार गठन गर्ने तयारी भइरहेको हो ।