गण्डकीमा माओवादी मन्त्रीले आजै राजिनामा दिने

होमल्याण्ड खबर

२०७९ चैत्र १० गते, शुक्रबार १४:३५ मा प्रकाशित

गण्डकी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

गण्डकी प्रदेश माओवादी संसदीय दलको शुक्रबार बसेको बैठकले मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । समर्थन फिर्तासँगै दुई मन्त्रीले आजै राजीनामा दिने तयारी गरेका छन् ।

पुस २५ मा माओवादी केन्द्रसहित राप्रपाको समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

माओवादीले समर्थन फिर्ता लिएसँगै अधिकारी सरकार समस्यामा परेको छ । अधिकारीले अब ३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।

अधिकारी सरकारमा माओवादीबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीमा हरिबहादुर चुमान र वनमन्त्रीमा रेशमबहादुर जुग्जाली सहभागी थिए ।

संसदीय दल बैठकको निर्णयलगत्तै कांग्रेस(माओवादी संयुक्त बैठक सुरू भएको छ ।