मिटरब्याज पीडितहरुको समस्या समाधान नगरे आन्दोलनमा उत्रने सिके राउतको चेतावनी

होमल्याण्ड खबर

२०७९ चैत्र १३ गते, सोमबार १६:३० मा प्रकाशित

जनमत पार्टीका अध्यक्ष सीके राउतले सरकारले मिटरब्याज पीडितहरुको समस्या समाधान नगरे आफ्नो पार्टी पनि आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

राउत सोमबार दिउँसो महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगेका पीडितहरुलाई भेट्न मातातीर्थमा पुगेका थिए । मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि कार्यदल नै बनाएर काम गर्नुपर्ने बताए ।

भेटका क्रममा पीडितहरुले आफूहरुको घरजग्गा सबै गुम्ने अवस्था आएको भन्दै न्याय नपाएसम्म नफर्किने बताए ।

राउतले मिटर ब्याज पीडितहरुको पक्षमा आफ्नो पार्टी जनमतले आन्दोलन गरेको बेला सरकारसँग सहमति भएको बताए । तर अहिले पनि समस्या रहेको भन्दै उनले समाधानका लागि कार्यदल नै बनाएर काम गर्नुपर्ने बताए ।

उनले भने- ‘कतिपय गृह मन्त्रालयले परिपत्र गरेर पनि समाधान गर्न सक्छ । कतिपय अदालतमा विचाराधीन भएकाले विधेयक वा अध्यादेश ल्याएर मात्र समाधान गर्न सकिन्छ । यसबारे हामी सरकारसँग कुरा गरिरहेका छौं ।’