३ चैत्र २०८२, मंगलवार
मन्त्रिपरिषद् विस्तारबारे अझै टुंगो लागेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही चैत १० गतेभित्र मन्त्रिपरिषद् विस्तार भइसक्ने बताएका थिए । चैत ६ गते प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि उनले यस्तो बताएका थिए ।
तर, चैत १४ गते हुँदा पनि सरकार विस्तारको टुंगो लागेको छैन । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङ न्यूनतम साझा कार्यक्रममै सहमति नभएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताउँछन् ।


“आजको गठबन्धन बैठकबाट न्यूनतम साझा कार्यक्रम पारित भयो भने आजै वा भोलि सरकार विस्तार हुन्छ,” गुरुङले बाह्रखरीसँग भने, “तर, सत्ता गठबन्धनका दलहरूबीच सहमति हुन सकेन भने यसै भन्न सकिन्न ।”
आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठक बस्दै छ । उनले न्यूनतम साझा कार्यक्रम पनि मन्त्रालयको भागबन्डासँग जोडिएको संकेत गरे । तर, कुन मन्त्रालयमा कसको दाबी भन्ने खुलाउन चाहेनन् ।
प्रधानमन्त्रीनिकट स्रोतका अनुसार माओवादीबाट बनेका मन्त्रीहरूको जिम्मेवारी भने हेरफेर हुनेछ । राजनीतिक दलहरूबीच भागबन्डा हुँदा मन्त्रालय फरक पर्ने भएकाले जिम्मेवारी हेरफेर हुने स्रोतको दाबी छ ।
“अहिले भएका मन्त्रीहरू जिम्मेवारीबाट मुक्त भने हुनुहुने छैन,” स्रोतले भन्यो, “अहिले बहाल रहेका मन्त्रीमध्ये केहीको विभागीय जिम्मेवारी भने परिवर्तन हुनेछ ।”