३ चैत्र २०८२, मंगलवार
मन्त्रिपरिषद् विस्तार पेचिलो बन्दै गएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा छन् । तर, अझै मन्त्रालयको बाँडफाँट टुंगिएको छैन ।
आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठक पनि निष्कर्षविहीन बनेको छ । योसँगै प्रधानमन्त्री प्रचण्ड चितवनतर्फ लागेका छन् । एक कार्यक्रमका लागि उनी चितवन गएका हुन् ।


गठबन्धनका प्रमुख दुई घटक नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)बीच नै मन्त्रालयको बाँडफाँट मिल्न बाँकी रहेको एक नेताले जानकारी दिए ।
केही मन्त्रालयमा यी दुई दलकै दाबी छ । दुवै पार्टीले एउटै मन्त्रालयमा दाबी गर्दा निष्कर्ष निस्कन सकेको छैन । ती नेताका अनुसार नेकपा (एकीकृत समाजवादी)ले पाउने मन्त्रालयको बाँडफाँट पनि टुंगिएको छैन । जनता समाजवादी पार्टी (जसपा)को समेत मन्त्रालय टुंगिन बाँकी रहेको ती नेताले बताए ।
“माओवादी र कांग्रेसबीच मन्त्रालयबारे टुंगिएको छैन । दुई पार्टीको केही मन्त्रालयमा एउटैमा दाबी छ,” आजको बैठकमा सहभागी ती नेताले भने, “एकीकृत समाजवादीको पनि मन्त्रालय टुंगिएको छैन । जसपाको पनि मिल्न बाँकी छ ।”
ती नेताका अनुसार पार्टीहरूले सरकारमा सहभागी हुने मन्त्रीको नाम दिए आजै नियुक्ति र शपथग्रहणको तयारी गरिएको छ ।
“आज दलले मन्त्रीको नाम दिए आजै विस्तार र शपथको तयारी छ,” ती नेताले भने ।
प्रधानमन्त्री चितवनबाट फर्किएपछि आजै दिउँसो २ बजे पुनः बैठक बस्ने जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।