३ चैत्र २०८२, मंगलवार
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गोविन्द भट्टराईलाई मत नहाल्नुको कारण नरहेको बताएका छन् । तनहुँ १ मा पार्टी उम्मेदवार गोविन्द भट्टराईको उम्मेदवारी दर्ताको क्रममा उनले तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेललाई गठबन्धनले राष्ट्रपति बनाएर तनहुँबासीको सम्मान गरेको बताए ।
‘राष्ट्रपति बनाएकोमा रिसाउनु भएको छ भने गोविन्द भट्टराईलाई मत नहाल्नुहोस् । खुसी हुनु भएको छ भने गोविन्द भट्टराईलाई किन मत नहाल्ने ?,’ उनको प्रश्न छ, ‘तपाईले जिताएर पठाएको सांसदलाई राष्ट्रपति बनाएर कांग्रेस र गठबन्धनले सम्मान गर्यो।’ रामचन्द्र पौडेललाई राष्ट्रपति बनाएकोमा धन्यवाद भन्नका लागि पनि वैशाख १० मा सान्दार मतले गठबन्धनका उम्मेदवार गोविन्द भट्टराईलाई जिताउनुपर्ने महामन्त्री थापाको भनाइ छ ।


कांग्रेस माओवादी मिलेर बनेको सरकार पाँच वर्ष कहीँ नजाने उनले बताए । ‘केन्द्रमा हाम्रो सरकार छ । प्रदेशमा हाम्रो सरकार बन्दै छ । पाँच वर्ष यो सरकार कही जाँदैन,’ उनी भन्छन्, ‘यहाँको साथी सरकारमा जाने सम्भावना छ । माओवादी, एकीकृत समाजवादीको साथ छ । नमिलेको कुरा र विर्गिएको केही छैन ।’
यस्तै महामन्त्री थापाले कांग्रेस छाडेका स्वर्णिम वाग्लेमाथि पनि खनिए । ‘हामी नेपाली कांग्रेस बदल्न चाहन्छौं । नेपाली कांग्रेसमा जे भइरहेको छ । सबै ठीक भइरहेको छ भन्ने होइन । नेपाली कांग्रेसभित्र धेरै कुरा बदल्नुपर्ने छ,’ उनले भने, ‘तर नेपाली कांग्रेसलाई लात हानेर बाहिर गएर कांग्रेस खराबभन्दै झ्यालमा ढुंगा हानेर कांग्रेस बदलिन्छ ? कांग्रेस बदल्न त्यहीभित्र बसेर लड्नुपर्छ ।’
नेपालमा बसेर संघर्ष गरेकाहरु अयोग्य हुन भनेर प्रश्न उठाइएको महामन्त्री थापाको भनाइ छ । ‘हामीलाई एउटा प्रश्न गरिएको छ । नेपालभित्र बसेर, यहीका विद्यालयमा बढेर बसेका हामीहरु सबै के पाल्तुहरु हौं रु के हामी सबै अयोग्य हौं रु के सपना देख्ने अधिकार हामीसँग छैन ? के हाम्रो संघर्ष बेकार हो ?,’ उनले प्रश्न गरे ।
तनहुँबाट गोविन्द भट्टराईलाई जिताएनौं भने नेपालमा बसेर संघर्ष गर्नु बेकार हो भन्ने सन्देश जाने उनले बताए । ‘म मेरो बुबाभन्दा तीन वर्ष जेठा पार्टी सभापतिसँग दलको चुनाव लडेर आएको हुँ,’ उनले भने, ‘मेरो ससुराबासँग म महामन्त्रीको चुनाव लडेर आएको हुँ । हामी लडिरहेका छैनौं रु तनहुँबाट गोविन्द भट्टराईलाई जिताएनौं भने हामीले गरिरहेको संघर्ष ठीक छैन भन्ने सन्देश जान्छ ।’