पुनर्गठनपछिको पहिलो मन्त्रिपरिषद् बैठक जारी, यी हुन् एजेन्डा

होमल्याण्ड खबर

२०७९ चैत्र २० गते, सोमबार १७:३३ मा प्रकाशित

मन्त्रिपरिषद् विस्तार र पुनर्गठनपछिको पहिलो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छ ।

बैठक अपराह्न ४ बजेदेखि सुरू भएको हो । बैठकका एजेन्डाहरूमा सुदखोर पीडितहरूको मागबारे छलफल हुनेछ । स्रोतकाअनुसार सरकारका दैनिक प्रशासनिक विषयमा पनि आवश्यक निर्णय हुनेछ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो पटक शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि बसेको यो पहिलो बैठक हो । प्रचण्डले शुक्रबार कांग्रेसबाट ४, एकीकृत समाजवादीबाट २, माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी, जनता समाजवादी, नागरिक उन्मुक्ति र नेपाल समाजवादीबाट १/१ जना मन्त्री थपेका छन् ।

पछिल्लो विस्तारमा कांग्रेसबाट उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल र सहरी विकासमन्त्री सीता गुरुङ बनेका छन् । यस्तै एकीकृत समाजवादीबाट वेदुराम भुसाल कृषि र प्रकाश ज्वाला भौतिक मन्त्री बनेका छन् ।

जनता समाजवादीबाट अशोक राई शिक्षा, लोकतान्त्रिक समाजवादीबाट शरतसिंह भण्डारी श्रम, नेपाल समाजवादीबाट महिन्द्रराय यादव महिला तथा बालबालिका र नागरिक उन्मुक्तिबाट रञ्जिता श्रेष्ठ भूमिसुधारमन्त्री भएका छन् ।

माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृह, शक्ति बस्नेत उर्जा, रेखा शर्मा सञ्चार, सुदन किराती पर्यटन, अमनलाल मोदी, संघीय मामिलामन्त्रीको जिम्मेवारीमा छन् । माओवादी केन्द्रकै सुशीला श्रीपाली पर्यटन राज्यमन्त्री छिन् ।

कानून, न्याय तथा संसदीय मामिला, खानेपानी, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री प्रचण्डले सम्हाल्दै आएका छन् ।

आजको बैठकमा सबै मन्त्रीहरूको उपस्थिति छ ।