चैत ३० भित्र बाँकी रहेका क्याम्पसमा स्ववियु चुनाव गर्न ४ विद्यार्थी संगठन सहमत

होमल्याण्ड खबर

२०७९ चैत्र २३ गते, बिहीबार ११:०६ मा प्रकाशित

 त्रिभुवन विश्वविद्यालयका विभिन्न क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्न ४ विद्यार्थी संगठन सहमत भएका छन् ।

चुनाव नभएका क्याम्पसहरूमा यही चैत ३० गतेभित्र चुनाव गर्न नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र अनेरास्ववियू सहमत भएका हुन् ।

बिहीबार नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, अनेरास्ववियुका अध्यक्ष समिक बडाल, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले विज्ञप्ति जारी गर्दै तत्काल निर्वाचन कार्यतालिका प्रकाशित गर्न माग गरेका हुन् ।

कुनै क्याम्पसमा कुनै पक्षबाट तालाबन्दीलगायतका निर्वाचन बिथोल्ने काम भए प्रशासनको सहयोगमा चुनावी प्रक्रिया अगाडि बढाइने पनि विज्ञप्तिमा उल्लेख छ ।

धेरै विद्यार्थी पढ्ने काठमाडौंका रत्नराज्यलक्ष्मी, त्रिचन्द्र, विश्वभाषा, नेपाल कमर्स क्याम्पस मीनभवन, अमृत साइन्स कलेज (अस्कल), पाटन बहुमुखीलगायत ७ आंगिक क्याम्पसमा निर्वाचन हुन बाँकी छ ।