सांसदले दुई करोड मागेको अडियोबारे छानबिन हुन्छ : गृहमन्त्री

होमल्याण्ड खबर

२०७९ चैत्र २७ गते, सोमबार ११:१८ मा प्रकाशित

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणको अनुसन्धान गर्ने बताएका छन् ।

अनुसन्धानबाट जे पुष्टि हुन्छ, त्यही अनुसार सरकार अघि बढ्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

चितवनमा सोमबार पत्रकारहरुसँग श्रेष्ठले दुई करोडको कुरा आएको त्यसलाई आधिकारिक रुपमा अनुसन्धानको प्रक्रियाबाट केही निष्कर्षमा पुगिनसकेको बताए ।

अडियो प्रकरणबारे सम्बन्धित पार्टी र तिनका नेताहरुले नै प्रष्ट पार्नुपर्ने गृहमन्त्री श्रेष्ठको भनाइ छ ।

रास्वपाका सांसद डा. श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो ।

अडियोमा श्रेष्ठले रविको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताएका छन् ।