३ चैत्र २०८२, मंगलवार
नेपाली कांग्रेस नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूहको बैठक बालुवाटारमा बसिरहेको छ ।
आफ्नो समूहका मन्त्रीको नाम टुंग्याउन कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बिहानदेखि बैठक बसेको हो ।


तीन जना मन्त्रीको नाम सभापति शेरबहादुर देउवालाई बुझाउने शेखर–गगन समूहको तयारी छ । कांग्रेसबाट ४ मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी हुन बाँकी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट दोस्रो पटक विश्वासको मत लिएपछि चैत १७ गते गरिएको मन्त्रिपरिषद् विस्तारमा कांग्रेसबाट उपप्रधानसहित रक्षामन्त्री सम्हाल्ने गरी कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले नेतृत्व गरेका छन् । त्यस्तै अर्थमन्त्रीमा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकास मन्त्रीमा सीता गुरुङ नियुक्त भएका छन् ।
शेखर–गगन समूहले तीन मन्त्री पाउनुपर्ने अडान राखेर नाम नदिएपछि देउवाले आफू पक्षीय २ जनाको शपथ पनि रोकिदिएका थिए । अहिले प्रधानमन्त्रीसँग रहेका ६ मन्त्रालयमध्ये कांग्रेसका भागमा कानुन, न्याय तथा संसदीय मामिला, परराष्ट्र, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छ ।