२६ बैशाख २०८३, शनिबार
कोरोना संक्रमण बढेसँगै काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोनाविरुद्धको खोप लगाउनेहरुको संख्या बढ्न थालेको छ ।
पछिल्लो केही हप्तादेखि कोरोना संक्रमितहरुको संख्या बढिरहेको छ । कोरोना संक्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड १९ विरुद्धको खोप लगाउनेहरुको उपस्थिति बाक्लिएको हो । केही दिनयता नेपालमा दैनिक एक सयको हाराहारीमा संक्रमितहरु बढिरहेका छन् । यस बीचमा केही नागरिहरुको कोरोना भाइरसका कारण निधन भएको छ । तर कोरोना भाइरसको संक्रमणका कारण निधन हुनेहरुमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरु मात्रै रहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा. शेरबहादुर पुनले बताए ।


डा. पुनले कोरोना भाइरस बढिरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टका सबभेरियन्टहरु रहेको बताए । उनले नेपालमा अहिले ९ वटा सबभेरियन्टहरु फेला परेको र त्यसमा आधाभन्दा धेरै नयाँ प्रजातिको रहेको बताए । डा. पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी.१.१६ समुदायमा बढी संक्रमण फैलाउने किसिमको रहेको जानकारी दिए । उनले यी सबभेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत संक्रमण फैलाइरहेको बताइ ।
‘पछिल्लो समय कोरोना संक्रमित बढीरहेको देखिन्छ । केही हप्ताको तुलनामा र औषतमा झन्डै १०० को हाराहारीमा संक्रमितको संख्या दैनिक देखिने गरेको छ । केही व्यक्तिको मृत्यु भएको पनि छ,’ उनले भने, ‘कोरोना भाइरस बढीरहनुको कारण हालको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु भन्ने गरिएको छ । जुन नेपालमा ९ वटा सबभेरियन्टहरु अहिले रहेको छ । आदि भन्दा बढी नयाँ नै देखिन्छ । एक्सबीबी.वान.१६ मुख्य मानिएको छ । कोरोना फैल्याउन । नेपालमा पनि ४२ प्रतिशत एउटा कारक मानिएको छ । भारतमा संक्रमण फैलिएको कारण पनि यही नै हो । यसको मतलव यो संक्रामक छ ।’
उनले दीर्घरोगी र गाह्रो पर्नेहरुले खोप नलगाएको भए लगाउन सुझाव दिए । यो पछिल्लो भेरियन्टहरु ठूलो घातक नमानिए पनि दीर्घरोगी र ज्येष्ठ नागरिकहरुलाई असर गर्नसक्ने उनको भनाइ । त्यसैले शतर्कता अपनाउन जरुरी रहेको र शतर्कता बेलैमा अपनाए मानविय क्षति कम हुने उनको भनाइ छ । ‘मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ, हातको सरसफाई राम्रोसँग बेलाबेलामा गर्नुपर्ने हुन्छ,’ डा. पुनले भने ।
कोरोना संक्रमण बढेसँगै अहिले काठमाडौंको शुक्रराज अस्पतालमा पनि कोरोना संक्रमितहरु बढ्दै गएका छन् । अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरु स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरु बढेको अस्पतालले जनाएको छ ।