एसिसी मेन्स प्रिमियर कप: नेपालको शानदार जित, मलेसिया ६ विकेटले पराजित

होमल्याण्ड खबर

२०८० बैशाख ५ गते, मंगलवार १६:०७ मा प्रकाशित

एसिसी मेन्स प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले सानदार सुरूवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको हो।

२३६ रनको लक्ष्य पछ्याएको नेपालले ३६।२ ओभरमै ४ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ७१ रन बनाए भने कुशल मल्लले बिस्फोटक ब्याटिङ गरे। उनले ४० बलमा ५ चौका र ५ छक्काको मद्दतमा ७० रन बनाए।

जवाफी ब्याटिङ गरेको नेपालले पहिलो ओभरमै ओपनर आशिफ शेखलाई १ रनमा गुमाएको थियो। त्यसपछि कुशल भुर्तेलले ब्याटिङलाई लयमा ल्याएका थिए। ३८ रन बनाएर भुर्तेल पेबेलियन फर्किएपछि नेपाललाई सुरुवाती दबाब भएको थियो। पछि कप्तान रोहित कुमार पौडेल र भीम सार्कीले ब्याटिङलाई लयमा फर्काए। पौडेलले ४२ रनको योगदान गरे भने सार्कीले अर्धसतकीय पारी खेले।

टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २३५ रनको योगफल तयार पारेको थियो। मलेसियाका लागि अहमद फैजले सर्वाधिक ७६ रनको योगदान गरे। ९५ बलमा ७६ रन बनाएका फैजले ८ चौका र १ छक्का प्रहार गरे।

यस्तै विरन्दीप सिंहले ४६ रनको योगदान गरे। ९४ बलमा ४६ रन बनाएका उनले दुई चौका प्रहार गरे। खिजर हायतले २२ रन जोड्दा ओपनर महमद अमिरले १७ रन जोडे।

नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले सर्वाधिक समान तीन(तीन विकेट लिए। १० ओभर बलिङ गरेका सोमपालले ४० रन खर्चिए। यस्तै १० ओभर बलिङ गरेका लामिछानेले एक ओभर मेडेन राख्दै ४८ रन खर्चिए।

नेपाल अब दोस्रो खेल ओमानसँग वैशाख ८ मा कीर्तिपुरस्थित त्रिवि मैदानमा खेल्ने छ। नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन छन्।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनल वैशाख १६ र फाइनल वैशाख १८ गते हुनेछ। प्रतियोगिताको विजेता टिम आगामी सेप्टेम्बरमा हुने एसिया कपका लागि छनोट हुनेछ।