ओडिआई: नेपालले ओमानलाई दियो ३११ रनको लक्ष्य

होमल्याण्ड खबर

२०८० बैशाख ८ गते, शुक्रबार १२:५६ मा प्रकाशित

युवा अलराउण्ड कुशल मल्लले ओडिआई करियरको पहिलो शतक र सोमपाल कामीको अर्धशतकमा नेपालले एसीसी प्रिमियर कपमा ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।

नेपालले ओडिआईमा पहिलो पटक ३०० रनको स्कोर पूरा गरेको हो । यसअघि गत मार्चमा लिग टुमा पपुवा न्युगिनी विरुद्ध २९७ रन बनाएको थियो

कीर्तिपुरस्थित टीयू मैदान टस हारेर पहिले ब्याटिङ गरेको नेपालले कुशलको १०८ र सोमपालको रन मद्दतमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो ।

१९ वर्षीय कुशलले नेपालका लागि सबैभन्दा छिटो ओडिआई शतक प्रहार गर्ने कीर्तिमान पनि बनाए । उनले ५९ बलमा ९ चौका र ९ छक्का प्रहार गर्दै शतक पूरा गरेका थिए ।

कुशल ओडिआईमा नेपालका लागि शतक प्रहार गर्ने छैटौं खेलाडी समेत बने । यसअघि नेपालका लागि पूर्व कप्तान पारस खड्का, दीपेन्द्र सिंह ऐरी, रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेखले शतक प्रहार गरिसकेका छन् ।

सन् २०२० मा क्रिकेट विश्वकप लिग टु अन्तर्गत कीर्तिपुरमै अमेरिका विरुद्ध डेब्यु गरेका कुशल मल्लले २१औं खेलमा आएर पहिलो शतक प्रहार गरेका हुन् । उनी नेपालका लागि ओडिआईमा सर्वाधिक रन बनाउनेमा सातौं स्थानमा छन् ।

यस्तै ओडिआईमा दोस्रो अर्धशतक प्रहार गर्ने क्रममा सोमपालले अविजित ६३ रन बनाए ।