३ चैत्र २०८२, मंगलवार
देशका तीन निर्वाचन क्षेत्रमा भइरहेको प्रतिनिधिसभाको उपनिर्वाचनमा बिहान ७ बजेदेखि मतदान जारी छ । तर, यी क्षेत्रका उम्मेदवारको मतदाता नामावलीमा अर्कै निर्वाचन क्षेत्रमा नाम रहेकोले आफैंलाई मत हाल्न पाउने छैनन् ।
बारा–२


बारा–२ मा भइरहेको उपनिर्वाचनका मुख्य चार प्रतिस्पर्धी मध्ये तीनले भने मतदान गर्न नपाउने भएका छन् ।
नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल, जनता समाजवादी पार्टी, नेपालका उम्मेदवार उपेन्द्र यादव र राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले मतदान गर्न नपाउने भएका हुन ।
एमालेका पौडेलको बारा–३ को मतदाता रहेको, जसपा नेपालका यादवको सप्तरीमा मतदाता नामावली रहेको तथा खरेलको काठमाडौंमा मतदाता नामावली रहेकाले मतदान गर्न नपाएका हुन ।
जनमत पार्टीका शिवचन्द्र कुशवाहाले भने आफनो निर्वाचन क्षेत्रमा मतदान गर्न पाउनेछन् ।
चितवन– २
चितवनका मुख्य प्रतिस्पर्धी मानिएका तीन मध्य एकले मात्रै मतदान गरेका छन ।
नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मात्रै मतदान गरेका हुन । उनले चतुर्मुखी उच्च मावि शक्तिखोर मतदान केन्द्रबाट मतदान गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तथा नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले भने मतदान गर्न पाउने छैनन् ।
नेकपा एमाले उम्मेदवार न्यौपानेको मतदाता नामावलीमा नाम चितवन क्षेत्र नम्बर ३ मा रहेको तथा रास्वपाका सभापति लामिछानको मतदाता नामावली काठमाडौंमा रहेकाले उनले उपनिर्वाचनमा भोट हाल्न नपाएका हुन ।
चितवन– २ मा श्रेष्ठ, न्यौपाने र लामिछानेलाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।
तनहुँ–१
तनहुँ–१ मा रास्वपाका उमेदवार स्वर्णिम वाग्लेले आफैलाई मतदान गर्न पाउने छैनन् । उनको मतदाता नामावली चितवनमा छ । त्यस्तै, एमाले उमेदवार सर्वेन्द्र खनालको मतदाता नामावली काठमाडौंमा भएकोले उनले पनि मतदान गर्न पाउने छैनन् ।