२० बैशाख २०८३, आईतवार
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद गुमेको छ । पार्टीले सांसद पदबाट हटाउन निर्णय गर्दै सभामुख देवराज घिमिरेदलाई पत्राचार गरेको थियो ।
त्यही पत्र अनुरुप सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४(१) बमोजिम दलबाट निस्कासन गरेको सूचनाको जानकारी सोही ऐनको दफा ३६ को प्रयोजनका लागि दफा ३५(१) बमोजिम श्रेष्ठको सांसद पद गुमेको जानकारी दिँदैछन् । यो ऐजेण्डा प्रतिनिधि सभाको आज केही बेरमा बस्ने कार्यसूचीमा समावेश भएको छ ।


रास्वपाले पार्टी सांसद श्रेष्ठलाई कारबाही गरेको दस्ताबेज संसद् सचिवालयमा बुझाएको थियो । मन्त्री बन्न पार्टीको कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई सांसद र पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो ।
संसद सचिवालयले श्रेष्ठलाई निष्काशन गरेपछि अब निर्वाचन आयोगमा जानकरी दिनेछ भने राजपत्रमा पनि सूचना प्रकाशित गर्नेछ। त्यसपछि निर्वाचन आयोग मार्फत् राष्ट्रिय स्वतन्त्र पार्टीलाई अर्को सांसद छान्ने बाटो खुल्नेछ।
