सडकका अव्यवस्थित तार १५ दिनभित्र हटाउन बालेनको निर्देशन

होमल्याण्ड खबर

२०८० बैशाख १२ गते, मंगलवार १६:२७ मा प्रकाशित

काठमाडौं महानगरपालिकाले सडकमा अव्यस्थित तार हटाउन सम्बन्धित कार्यालय तथा संघसंस्थालाई १५ दिनको समय दिएको छ ।

मंगलबार एक सूचना प्रकाशित गरी महानगरपालिकाले सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र आगलागीलगायतको जोखिम सिर्जना हुनसक्ने भन्दै अनावश्यक तार हटाउन निर्देशन दिएको हो ।

महानगरले बिजुली, टेलिफोन, इन्टरनेट तथा केवल सेवा प्रदायक निकाय तथा संघसंस्थाले पोलमा गुजुल्टो बनाएर राखेका, चुडिँएर तथा लत्रिएर सडकमा छरिएका तार आफैँ हटाउन र आवश्यक तारलाई सङ्केत चिह्न लगाउन निर्देशन दिएको छ ।

महानगरले उक्त अवधिमा तार नहटाए महानगर आफैँले हटाउने उल्लेख गरेको छ । अव्यवस्थित तारबाट सिर्जना हुन सक्ने जोखिम घटाउने विषयप्रति महानगरपालिकाले विभिन्न समयमा सरोकारवाला निकाय तथा अधिकारीसँग बैठक बसेर व्यवस्थापनका लागि अनुरोध गरिसकेको जनाएको छ ।

तर, निर्णय कार्यान्वयनका लागि पटक-पटक पत्र पठाएर ताकेता गर्दा पनि काम नभएको महानगरपालिकाको भनाइ छ ।