१० मंसिर २०८१, सोमबार
सरकारले चिनी आयातमा लगाएको परिमाणात्मक प्रतिबन्ध खुलाउने तयारी गरेको छ । स्वदेशी चिनी उद्योगको प्रवद्र्धन गर्न भन्दै सरकारले आयातित चिनीमा प्रतिबन्ध लगाएको छ । तर, यस्तो प्रतिबन्धका कारण बजारमा चिनीको मूल्य अस्वाभाविक बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न आयात प्रतिबन्ध फुकुवा गर्ने तयारी गरिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले बजारमा चिनीको मूल्य अस्वाभाविक रूपमा बढेपछि आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गर्न लागिएको जानकारी दिए । “दसैंको मुखमा चिनी आयातमा प्रतिबन्ध लगाउँदा बजार मूल्य बढेकाले उपभोक्तालाई प्रत्यक्ष असर परेको देखियो,” उनले भने, “बजारमा भएको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न आयातमा लगाइएको प्रतिबन्ध खुला गर्न लागेका हौं ।”
दसैंको मुखमा आयातमा प्रतिबन्ध लगाएपछि बजारमा चिनीको मूल्य प्रतिकेजी १५ देखि २० रुपैयाँसम्म बढेको छ । अहिले बजारमा चिनीको मूल्य प्रतिकेजी ८० देखि ९० रुपैयाँ छ । स्वदेशी उत्पादनको तुलनामा आयातित चिनीको मूल्य कम पर्ने भएकाले उपभोक्ताले सस्तोमा पाउने गर्छन् । स्थानीय उत्पादनले माग धान्न नसक्दा बजारमा अभाव भइ महँगो हुने गर्छ । गोदाममा पर्याप्त स्टक छ भन्दै आयातमा प्रतिबन्ध लगाउन सफल व्यवसायीले अस्वाभाविक मूल्यवृद्धि गरेको गुनासो आएपछि बुधबार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवसहितको बैठकले चिनीको खुद्रा मूल्य प्रतिकिलो ७० भन्दा बढ्न नदिने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्ले वार्षिक १ लाख टनमात्रै आयात गर्न पाउने निर्णय गर्नुअघि एक किलो चिनीको औसत मूल्य ६५ रुपैयाँ थियो । उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले सरकारले लगाएको परिमाणात्मक बन्देजले कालोबजारीलाई थप प्रोत्साहन मिलेको बताए । बजारमा चिनीको मूल्य अस्वभाविक रूपमा बढेकाले पनि त्यसलाई नियन्त्रण गर्न आयात फुकुवा गर्नुपर्ने उनको भनाइ छ ।
यसैबीच, मन्त्रालयले उखु किसानको बक्यौता तत्काल भुक्तानी गर्न उद्योगीहरूलाई पत्र पठाउने निर्णय गरेको छ । १३ चिनी उद्योगमध्ये ७ उद्योगले भुक्तानी गर्न बाँकी छ । ती उद्योगहरूले २ अर्ब ७६ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको उखु उत्पादक महासंघले जनाएको छ । उद्योगीसँगै सरकारले पनि १ अर्ब २८ करोड बक्यौता भुक्तानी गर्न बाँकी रहेको महासंघको दाबी छ ।
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले सरकारलाई चिनीको खुद्रा मूल्य ६३ रुपैयाँ कायम गर्न निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । पछिल्लो समय बजारमा व्यवसायीले अस्वाभाविक रूपमा चिनीको मूल्य बढाएको भन्दै लेखराज भट्टको संयोजकत्वमा ५ सदस्यीय समितिले छानबिन उपसमिति गठन गरेको छ । समितिले ७ दिनभित्र प्रतिवेदन समितिमा बुझाउने छ ।