नागरिक सुसूचित भए मात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल हुन्छ : प्रधानमन्त्री

होमल्याण्ड खबर

२०८० बैशाख २४ गते, आईतवार १३:४९ मा प्रकाशित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक सुसूचित भए मात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल बन्न सक्ने बताएका छन्।

गोरखापत्र दैनिकको १ सय २३औँ तथा गोरखापत्र संस्थानको ६१ औँ वर्ष प्रवेशका अवसरमा आइतवार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नागरिक सुसूचित हुनसके मात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल बन्न सक्ने भएकाले राज्यका हरेक अङ्ग र निकायलाई कार्यसम्पादनप्रति जिम्मेवार, उत्तरदायी र सबल बनाउन सञ्चार माध्यमले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुने बताए।

‘राज्यका सबै कामकारवाही पारदर्शी हुनुपर्छ । राज्यका निकायले गर्ने कार्य सम्पादनका बारेमा जनसमक्ष ल्याउने दायित्व आमसञ्चार माध्यमको नै रहन्छ । नागरिक सुसूचित हुनसक्दा मात्र संघीय लोकतान्त्रिक गणतन्त्र सबल बन्न सक्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘राज्यका हरेक अङ्ग र निकायलाई कार्यसम्पादनप्रति जिम्मेवार, उत्तरदायी र सबल बनाउन चौंथो अङ्गका रूपमा सञ्चार माध्यमले निर्वाह गर्ने भूमिका महत्वपूर्ण हुनसक्दछ । त्यसैले सञ्चार माध्यमलाई ‘वाच डग’का रूपमा लिने गरिएको छ । यो भूमिका आगामी दिनमा अझ सशक्त बन्नसक्नुपर्छ । सही सूचना र जानकारीबाट सूचित हुने नागरिकको अधिकार प्रत्याभूत गर्न आमसञ्चार जिम्मेवार बन्नसक्नुपर्छ ।’