२ चैत्र २०८२, सोमबार
अर्थमन्त्री डा. प्रकाशशरण महतले लचिलो मौद्रिक नीतिमार्फत अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन २०८० लाई सम्बोधन गर्दै अर्थतन्त्रमा शिथिलता देखिएको छ ।
उनले अर्थतन्त्रको समस्या समाधान वित्त नीति भन्दा पनि मौद्रिक नीतिले गर्न सक्ने बताए । उनले कोभिड-१९ मा वित्त नीतिबाट पूँजी परिचालन गर्न नसक्दा र मौद्रिक उपकरणमार्फत अत्यधिक कर्जा प्रवाह हुँदा समस्या भएको बताए । अहिले अर्थतन्त्रमा शिथिलता आउनुको धेरै कारण रहेको भन्दै त्यसको समाधान लचिलो मौद्रिक नीतिमार्फत गर्नुपर्ने उनले बताए ।


‘अहिले हामीसँग वित्त नीतिमा लचिलो बन्ने ठाउँ छैन । अहिले मौद्रिक नीतिमा मार्फत अर्थतन्त्र चलायमान हुन सक्छ,’ उनले भने, ‘राष्ट्र बैंकका अधिकारीहरुले यो महिनाको अन्त्यसम्ममा मौद्रिक नीतिको समीक्षामार्फत लचिलो नीति लिने प्रतिबद्धता जनाउनु भएको छ । लचिलो मौद्रिक नीति लियो भने ब्याजदर घट्छ भन्ने विश्वास छ ।’
उनले वित्त नीति लचिलो बनाएर पूँजी परिचालन गर्न सक्ने अवस्था नभएकाले लचिलो मौद्रिक नीति लिँदै मौद्रिक उपकरणमार्फत आर्थिक गतिविधि बढाउनुपर्ने दोहोर्याए ।