अर्थतन्त्र उकास्न विश्वप्रकाशले दिए सरकारलाई ९ बुँदे सुझाव

होमल्याण्ड खबर

२०८० बैशाख २६ गते, मंगलवार १४:१८ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संकटग्रस्त अर्थतन्त्र उकास्न सरकालाई ९ बुँदे सुझाव दिएका छन्।

प्रतिनिधि सभाको आजको बैठकमा सरकारले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्तहरुमाथिको छलफलमा शर्माले अहिलेको संकटपूर्ण अर्थतन्त्रको उद्दारका लागि सरकारले सार्वजनिक खर्चमा व्यापक कटौती गर्नुपर्ने बताए । बेरुजु संकलनमा कडाइ, चुहावट र भ्रष्टाचार नियन्त्रणमा कडाइसहित कठोरता राख्न सरकारलाई शर्माको सुझाव छ ।

शर्माले पछिल्लो समय बैंकहरु र व्यवसायीबीच ब्याजदर केन्द्रित तनाव बढ्दै गएकाले मौद्रिक नीतिमार्फत त्यसलाई सम्बोधन जरुरी रहेको पनि बताए ।

यस्ता छन् शर्माका नौ सुझाव

१) राष्ट्र बैंकको समन्वयमा मौद्रिक नीतिमार्फत सरकार बैंक र व्यवसायीबीचको ब्याजदर केन्द्रित तनावको हल गरियोस्।

२)आन्तरिक र बाह्य ऋणको आकारले क्रमश डेब ट्रयापमा पर्न नदिन मितव्ययी ढंगले बजेट निर्माण गरियोस्।

३)अनुत्पादक र फजुल खर्च भएका क्षेत्रहरु पहिचान गरेर फजुल खर्च कटौती गरोस्। लहडको भरमा कुनै पनि परियोजना अघि नसारियोस्।

४) बजेटको आकार घटाउने भन्दा पुँजीगत खर्च बढाउने कानुन, नीति र रणनीति तर्जुमा गरियोस्।

५) व्यापार घाटा क्रमश न्यून गर्दै जान विद्युत्को उत्पादन, उपभोग र व्यापारको बृहत्तर योजना तर्जुमा गरोस्।

६) खाद्यान्नमा आत्मनिर्भर हुने संकल्पका साथ कृषिमा सामेल हुन पढिरहेको युवाहरुलाई प्रेरित गर्ने योजना र कार्यक्रम बनाऊँ।

७) बेरुजु संकलनमा कडाइ, चुहावट र भ्रष्टाचार नियन्त्रणमा कडाइसहित कठोरता राखौँ।

८) निजी क्षेत्रसँगको परामर्शमा खारेज सुधार र नयाँ निर्माण गर्नुपर्ने करिब दुई दर्जन ऐनहरुको ओम्नीवश आर्थिक प्याकेज ल्याऊँ।

९) सार्वजनिक खर्च पुनरवालोकन आयोगको प्रतिवेदन अध्ययन गरी उपादेयता नदेखिएका विभाग र सार्वजनिक संरचना खारेज गरौँ।