९ मंसिर २०८१, आईतवार
नेपाल एयरलायन्सले प्रादेशिक (अन्तर प्रदेश) हवाई कनेक्टिभिटी बढाउने उद्देश्यले शहरी क्षेत्रमा उडान भर्न सक्ने थप २ वटा जहाज किन्ने तयारी सुरु गरेको छ।
एयरलायन्सले शहरी क्षेत्रका एयरपोर्टमा उडान भर्न सक्ने दुई वटा जहाज खरिद गर्ने कार्य योजना अघि बढाउन निगम व्यवस्थापनको उप समितिले आफ्नो प्रतिवेदन पेश गरिसकेको जनाएको हो।
नेपाल वायुसेवा निगमका प्रवक्ता रमेश पौडेलका अनुसार यस कार्यमा विशेष पहल गरी छिटो त्यस प्रकारका जहाज खरिद कार्य सम्पन्न गर्नको लागि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा बसेको मिति २०८० वैशाख २६ गतेको संचालक समितिको बैठकले निगम संचालक समितिका सदस्य वरिष्ठ क्याप्टेन सुधीर समशेर राईको संयोजकत्वमा नौ सदस्यीय उपसमिति गठन गरेको छ।
उक्त उपसमितिले २१ कार्य दिन भित्र प्रतिवेदन बुझाउने गरी कार्य समेत सुरु गरिसकेको उनले जानकारी दिए। प्रवक्ता पौडेलका अनुसार शहरी क्षेत्रका एयरपोर्टमा चल्ने जहाज नभएको कारण निगमले हाल शहरी एवं व्यापारिक हिसावले फाइदाजनक क्षेत्रमा उडान भर्न सकेको छैन।
निगमले दुई वटा जहाज खरिद गरेपश्चात काठमाडौं, विराटनगर, भैरहवा, पोखरा, नेपालगञ्ज, धनगढी लगायत नेपालका शहरी क्षेत्रबाट प्रादेशिक उडान भरी अझै धेरै यात्रुहरूलाई सेवा प्रदान गर्न सकिने अपेक्षा लिएको छ।