गण्डकीमा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ?

होमल्याण्ड खबर

२०८० बैशाख २९ गते, शुक्रबार १३:२६ मा प्रकाशित

गण्डकी प्रदेश मन्त्रिपरिषदको बिस्तार भएको छ । नेपाली कांग्रेसबाट २, नेकपा माओवादीबाट २ र एकीकृत समाजवादीबाट १ जना गरी ७ सदस्यीय मन्त्रिपरिषद बनाइएको छ ।

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेसबाट नवलपुरका महेन्द्रध्वज जिसी, बागलुङका दिपेन्द्रबहादुर थापालाई मन्त्री नियुक्त गरेका छन् भने एकीकृत समाजवादीबाट राजीव गुरुङ (दीपक मनाङे) र माओवादीबाट रेशमबहादुर जुग्जाली नियुक्त भएका छन् ।

मन्त्रालयको नाम भने सपथसँगै सार्वजनिक गर्ने मुख्यमन्त्री पाण्डेले बताएका छन् । ४ बजे मन्त्रीको सपथ कार्यक्रम राखिएको छ ।

१५ गते सपथसँगै कांग्रेसबाट सरस्वती अर्याल तिवारी र माओवादीबाट सुशीला सिम्खडालाई विना विभागीय मन्त्री नियुक्त गरेका थिए ।

केन्द्रीय तहबाटै दबाब  आएपछि मनाङे गण्डकी सरकारको चौथो पटक मन्त्री हुन सफल भएका छन् ।

नवलपुरका महेन्द्रध्वज संविधान सभा सदस्य भइसकेका हुन् भने कांग्रेस संसदीय दल गण्डकीमा नेताको दाबेदार पनि थिए ।

शेखर–गगन समूहका महेन्द्रध्वजले अन्तिममा स्याङ्जाका भोजराज अर्यालको प्रस्तावक बनेका थिए । उनी नेपाली कांग्रेस गण्डकीको सभापतिसमेत हुन चाहेका थिए ।

बागलुङका थापा जिल्ला पूर्व जिल्ला सभापतिसमेत हुन् भने २०७४ मा एमालेका इन्द्रलाल सापकोटासँग प्रदेश सभामा पराजित भएका थिए ।

रेशम जुग्जाली अगराज अधिकारी सरकारमा पर्यटनमन्त्री थिए । यसअघि १२ मन्त्रालयसम्म रहेको गण्डकीमा खगराज अधिकारीले ७ मा झारेका थिए । पाण्डेले पनि मन्त्रालयको संख्या सोही कायम गर्ने घोषणा त्यही बेला नै गरेका थिए ।

मुख्यमन्त्री पाण्डेले यसअघि नेपाली कांग्रेसबाट सरस्वती अर्याल र माओवादी केन्द्रबाट सुशीला शि‌म्खडालाई मन्त्री नियुक्त गरिसकेका छन् ।