संसदीय दलको नेता चयन गरेपछि मात्र जसपाले मन्त्री पठाउने

होमल्याण्ड खबर

२०८० बैशाख २९ गते, शुक्रबार १८:०९ मा प्रकाशित

जनता समाजवादी पार्टी नेपाल (जसपा)ले संसदीय दलको नेता चयन गरेपछि मात्र सरकारमा थप मन्त्री पठाउने भएको छ ।

भागबण्डमा दुई वटा मन्त्रालय पाएको जसपाले एउटा मन्त्री पठाउन बाँकी छ । प्रधानमन्त्री प्रचण्डले जसपाका लागि वन मन्त्रालय राखिरहेका छन् भने सो पार्टीले मन्त्री नपठाएको कारण सरकारले अझै पूर्णता पाउन सकेको छैन ।

तर, जसपा तत्काल मन्त्री पठाउने पक्षमा नदेखिएको हो । जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संसदीय दलको नेता चयन गरेपछि मात्र जसपाले थप मन्त्री पठाउने बताए ।

यसअघि संसदीय दलको नेतामा चयन भएका रामसहाय यादव उपराष्ट्रपति बनेपछि सो पद खाली थियो । उपनिर्वाचनबाट निर्वाचित भएर आएसँगै अध्यक्ष उपेन्द्र यादवलाई संसदीय दलको नेता बनाउन जसपाले प्रक्रिया सुरु गरिसकेको छ । वैशाख २७ गते बसेको कार्यकारिणी समितिको बैठकले तीन सदस्य निर्वाचन समिति गठन गरेको हो ।

जसअनुसार समितिले विधानको व्यवस्था बमोजिम निर्वाचन प्रक्रियाबाट संसदीय दलको नेता छान्ने बताइएको छ ।