बाक्लियो शीर्ष नेताको दौडधुप, प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा र ओली

होमल्याण्ड खबर

२०८० बैशाख ३१ गते, आईतवार १०:४५ मा प्रकाशित

नक्कली भुटानी शरणार्थी प्रकरणले नेपाली राजनीतिमा तरङ्ग आइरहेको बेला तीन शीर्ष नेताबीच निरन्तर भेटवार्ता भइरहेको छ।

तीन नेताबीच अहिले भेटवार्ता जारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ।  तीन शीर्ष नेताबीच संसदीय सुनुवाई समिति र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।

पछिल्लो समय  प्रमुख तीन दलका शीर्ष नेताको भेटघाट बाक्लिएको हो। अघिल्लो सोमबार संवैधानिक परिषद् बैठकले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको छ।

यसैगरी प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने क्रममा कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे लगायतलाई पक्राउ गरिसकेको छ।

त्यसैगरी एमाले सचिव टोपबहादुर रायमाझिलाई पक्राउ पूर्जी जारी गरेको छ भने एमाले, कांग्रेस र माओवादीका नेता तथा उनीहरुका श्रीमती, छोराहरु पछिल्लो समयमा मुछिएपछि राजनीति वृत तरंगित बनेको छ। उनीहरुबीच नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा पनि छलफल हुने बताइएको छ।

नागरिकस्तरबाट पनि शनिबार भ्रष्टाचारको विरोधमा प्रदर्शन भएको थियो।