प्रचण्ड, ओली र देउवाबीचको बैठकमा दोस्रो तहका नेता पनि थपिए

होमल्याण्ड खबर

२०८० बैशाख ३१ गते, आईतवार १२:२५ मा प्रकाशित

संसद सञ्चलान, बजेट, नीति तथा कार्यक्रम, संसदीय समिति गठन लगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेताबीचको छलफलपछि ती दलका अन्य नेतालाई समेत बालुवाटार बोलाइएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीचको छलफलमा तीनै दलका प्रमुख सचेतकहरू पनि पुगेका हुन्।

उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर थापा, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादीका हितराज पाण्डे थपिएका हुन्।

बैठकमा संसदको प्रभावकारिता, आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा केन्द्रित छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यसैगरी  प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने क्रममा कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे लगायतलाई पक्राउ गरिसकेको छ।

त्यसैगरी एमाले सचिव टोपबहादुर रायमाझिलाई पक्राउ पूर्जी जारी गरेको छ भने एमाले, कांग्रेस र माओवादीका नेता तथा उनीहरुका श्रीमती, छोराहरु पछिल्लो समयमा मुछिएपछि राजनीति वृत तरंगित बनेको छ। उनीहरुबीच नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा पनि छलफल हुने बताइएको छ।

नागरिकस्तरबाट पनि शनिबार भ्रष्टाचारको विरोधमा प्रदर्शन भएको थियो।

पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरण चर्किँदै गएपछि प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट बाक्लिँदो छ। यसअघि पनि तीन दलका शीर्ष नेताहरुबीच पटक पटक भेटवार्ता भएको थियो ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायत दर्जन बढी पक्राउ परिसकेका छन् । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार रहेका छन् ।