ठोस प्रमाण बिना आरजुविरुद्ध लान्छना नलगाउन तरुण दलको ध्यानाकर्षण

होमल्याण्ड खबर

२०८० बैशाख ३१ गते, आईतवार १५:२९ मा प्रकाशित

नेपाल तरुण दलले नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवाविरुद्ध लान्छना नलगाउन ध्यानाकर्षण गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी समेत रहेकी आरजुको नाम नक्कली भुटानी शरणार्थीमा मुछिएको छ ।

कांग्रेस केन्द्रीय सदस्य तथा सांसद समेत रहेकी राणालाई विदेश भागेको भनेर चरित्र हत्या गर्ने खालको अनर्गल प्रचारप्रपति तरुण दलको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

तरुण दलका अध्यक्ष विद्धान गुरुङले आइतबार एक विज्ञप्ति जारी गर्दै कुनै ठोस प्रमाण विना कसैप्रति लाञ्छना लगाउनु गम्भीर अपराध भएको बताए ।

‘भुटानी शरणार्थी काण्ड प्रहरी अनुसन्धानमै रहेको हुँदा कुनै ठोस प्रमाण बिना कसैप्रति लान्छना लगाउनु गम्भीर अपराध हो ।यसप्रति सबै सरोकारवालाहरु सचेत रहन नेपाल तरुण दल केन्द्रिय समिति आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । यस्तै अध्यक्ष गुरुङले अनुसन्धानमा तरुण दलको पूर्ण सहयोग रहने बताए ।