रेशम चौधरीको मुद्दाकाे आज अन्तिम सुनुवाई हुँदै

होमल्याण्ड खबर

२०८० जेष्ठ १ गते, सोमबार १२:३४ मा प्रकाशित

टीकापुर घटनासम्बन्धी रेशम चौधरीविरुद्धको मुद्दाकाे आज अन्तिम सुनुवाई हुँदैछ ।

यसअघि पटकपटक साधारण तारिख र पेसी सरेर हेर्दाहेर्दैमा परेको चौधरीसहितविरुद्धको उक्त मुद्दा सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको हो ।

यो मुद्दामा वैशाख २५ गतेदेखि अन्तिम सुनुवाइ सुरू भएको थियो । उक्त दिन चौधरी पक्षका कानून व्यवसायीले बहस गरेका थिए । आज सोमबार सरकारी वकिल र प्रतिपक्षका वकिलले बहस गर्नेछन् ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार हेर्दाहेर्दैमा परेको र यसअघिदेखि नै सुनुवाइ सुरू भएकाले मुद्दा किनाराको अन्तिम चरणमा छ । उनका अनुसार आजै फैसला आउने सम्भावना छ ।

२०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बनेपछि भीडको आक्रमणबाट नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी मारिएका थिए । उक्त घटनामा रेशम चौधरीसहित ८ जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको थियो ।

उक्त फैसलाविरुद्ध रेशम पक्षका कानून व्यवसायीहरूले सर्वोच्चमा पुनरावेदनका लागि दिएको निवेदन दिएका थिए । सो निवेदनमाथि अन्तिम फैसला आउने दिने तयारी सर्वोच्चले गरेको हो ।